राप्रपा नेपालले भक्तपुरमा मन्त्री किराँतीको पुत्ला जलायो
Share

भक्तपुर । राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको छ । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।
मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । भक्तपुरको मध्यपुर ठिमिमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता विष्णु भट्टराईले मन्त्री किराँतीको चर्को विरोध गर्दै तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।
कार्यक्रमअघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको वातावरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । थापाले बृहद् राष्ट्रिय मोर्चाको आवश्यकता औंल्याउँदै राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा आएर संघीय गणतान्त्रिक भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएको बताएका थिए । राप्रपा नेपालले आगामी पुस १६ गते भक्तपुरमा विरोध सभा गर्ने निर्णय गरेको छ ।